
काठमाण्डु,२७ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनको ठीक अघि आफ्ना पार्टीका सांसदको पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकामा असन्तुष्टि व्यक्त गरेका छन ।
उनले अडियो सार्वजनिक गर्नु शंकास्पद भएको पनि बताएका छन । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेको टिमका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईसँग सहयोग माग गरेको अडियो आइतबार सार्वजनिक गरेका थिए ।
उनले भने, ‘यो यतिबेला अडियो किन ल्याइयो रु अरु दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो दलमा चलन छैन,’ चितवनमा भएको चुनावी कार्यक्रममा भने, ‘निर्वाचन आयोग, अदालतबाट नसकेपछि चुनावकै मुखमा यस्ता कुरा आउनुलाई मैले अन्यथा लिएको छैन । जसले गल्ती गरेपनि कारबाही गर्ने सक्ने छाती लिएर हिंडेको छु ।’
उनले अडियोमा आफ्नो वरपर रहेका व्यक्तिलाई पनि मुछिएको उल्लेख गर्दै उनले तिनलाई कारबाही गर्न अख्तियारमा निवेदन दिने बताएका छन । उनले भने, ‘मेरै वरपर लागेका मान्छेलाई आरोप लागेको छ ।
अख्तियारमा म आजै निवेदन दिन्छु ।’ उनले पार्टीमा रहेर भ्रष्टाचार गर्नेलाई कठालो समातेर जनताको माझमा पुर्याउने क्षमता आफूहरुसँग रहेको बताएका छन ।
उनले विश्वासका आधारमा पार्टीमा कयौं व्यक्तिहरु जोडिएको र कतिपयको पृष्ठभूमि थाहा नभएको बताएका छन ।