भीम रावलसँग वार्ता गर्न एमालेले ३ सदस्यीय टोली बनायो

काठमाण्डु टुडे २०७९ चैत १८ गते १६:१९ मा प्रकाशित

काठमाण्डु,१८ चैत– एमालेले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई सहमतिमा ल्याउन वार्ता टोली गठन गरेको छ । आज शनिबार बसेको एमाले सचिवालय बैठकले ३ सदस्यीय वार्ता टोली बनाएर छलफलपछि आवश्यक निर्णय लिन जिम्मेवारी दिएको हो ।

पार्टीको दसौँ महाधिवेशनबाट पार्टीमै रहेको तर पार्टीको विधि विधान नमानेको कारण रावलसँग वार्ता गरेर सहमतिमा पुग्नका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूर पश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापाको नेतृत्वमा ३ सदस्यीय टोली बनाइएको पार्टी उप–माहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन ।

एमालेले सो टोलीलाई नेता रावलसँग वार्ता गरेर आवश्यक टुङ्गोमा पुग्न जिम्मेवारी दिने निर्णय गरेको उनले बताएका छन । एमालेले नेता रावललाई स्पष्टीकरण सोध्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

आज बसेको बैठकमा नेताहरुले रावलको विषयलाई लिएर प्रश्न गरेका थिए । रावलले पछिल्ला दिनमा एमालेको निर्णय नमानेको र पार्टी अनुशासन नमानेको भन्दै स्पष्टीकरण सोध्ने तयारी गरेको बताइएको छ ।

तर उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्पष्टीकरण नभएर सोधपुछ गर्नेबारे छलफल भएको बताएका छन । केही दिन अघि उपाध्यक्ष विष्णु पौडेल अछाम गएपछि रावल पक्षधर नेता कार्यकर्ताले पौडेलविरुद्ध नारावाजी गरेका थिए । त्यसपछि नेता रावलले आफ्नै गाउमा आउदा पनि पौडेलले आफुलाई जानकारी नदिएको गुनासो गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us