रामपुर कृषि क्याम्पसको स्ववियु चुनावमा धाधँली भयो: कांग्रेस

काठमाण्डु टुडे २०७९ चैत १८ गते १२:११ मा प्रकाशित

काठमाण्डु,१८ चैत– कांग्रेस चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा धाधँली भएको बताएको छ ।

क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनसँग समन्वय नगरी कुनै एक विद्यार्थी संगठनलाई फाइदा हुने गरी मतदानको सूचना निकालेर चुनाव गराएको कांग्रेसले बताएको छ ।

रामपुरमा हिजो शुक्रबार मतदान भएको थियो । उक्त निर्वाचनमा क्याम्पस प्रशासनको मिलेमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिएको कांग्रेसले बताएको छ ।

चुनावमा भएको धाधँलीको विरोध गर्दा प्रहरी लगाएर स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाई अध्यक्ष सुरज यादव घाइते भएको भएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

उक्त घटनाको छानबिन गरी निर्वाचन रद्द गर्नुका साथै घाइतेको उपचार प्रबन्ध मिलाउन कांग्रेसले माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us