हावाहुरीले मकैबाली सखाप

काठमाण्डु टुडे २०७१ साउन ६ गते ७:२७ मा प्रकाशित

जाजरकोट, ६ साउन – जाजरकोटको लहाँ गाउँ विकास समिति वडा नं ७ भण्डारी गाउँमा हावाहुरीले मकैबाली सखाप भएको छ ।

सोमबार बेलुका चलेको हावाहुरीले धानचमर हाल्न थालेको मकैमा व्यापक क्षति गरेको किसान कर्णबहादुर खत्रीले बताउनुभयो । करिब ९२ घरधुरी भएको यो वडामा लगाइएको सबै मकैबाली हावाहुरीले भाँचिएपछि किसान मर्कामा परेका छन् ।

मकैको सम्पूर्ण बोट नै भाँचिएपछि किसानहरु आज जिल्ला कृषि विकास कार्यालयमा आएर जानकारी दिने तयारीमा रहेको खत्रीले बताए । अधिकांश दलित बस्ती रहेको यो वडामा करिब ९०० मुरी मकै फल्ने गर्दथ्यो । यहाँको मुख्य मकैबालीमा क्षति भएसँगै किसानहरु के खाने भनेर चिन्तित भएका छन् ।

मुख्य बाली नै बिग्रिएपछि रुनुबाहेक अरु विकल्प नभएको अर्का किसान पदम विकले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us