उपराष्ट्रपति निर्वाचनः स्त्तारुढ १० दलबीच भएन सहमति

काठमाण्डु टुडे २०७९ चैत १ गते २०:२३ मा प्रकाशित

काठमाण्डु, १ चैत– उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न बुधबार साँझ बसेको सत्तारुढ १० दलको बैठक बिनानिस्कर्ष सकिएको छ ।

बैठकमा सत्तारुढ घटकबीच एउटै उम्मेदवारका पक्षमा मतदान गर्नेबारे सहमति खोज्ने प्रयासमा छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले साझा उम्मेदवार कायम गरेर जाने विषयमा सकारात्मक छलफल भएको बताए । ‘उपराष्ट्रपति निर्वाचनको निम्ति १० दलबीचमा समझदारी कायम गर्ने विषयमा छलफल भयो’, बस्नेतले भने, ‘छलफल सकारात्मक भएको छ । भोलि फेरि बसेर निर्णय हुन्छ ।’ उपराष्ट्रपतिका लागि सत्तारुढ घटकका तीन उम्मेदवार छन् ।

काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका साझा उम्मेदवार छन् । ती दलले जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवलाई उम्मेदवार बनाएका छन् । सर्वोच्च अदालतले पुरुष भएका कारण रामसहायकको उम्मेदवारी खारेज गर्न सक्ने आशंकामा चार दलले प्रमिलालाई पनि उम्मेदवार बनाएका हुन् । ती दलको उम्मेदवार रामसहाय हुन् । मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले रामसहायका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

यस्तै जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दिएकी छन् । झालाई लोसपा र नागरिक उन्मुक्तिको समर्थन छ । प्रमिलाले उम्मेदवारी फिर्ता लिएको जानकारी विज्ञप्तिमार्फत गराइसकेकी छन् । जनमत पार्टीले भने उम्मेदवारी फिर्ता लिन मानेको छैन । बिहीबार फेरि बैठक बसेर त्यसबारे छलफल गरिने नेताहरुले बताएका छन् । उपराष्ट्रपति चयनका लागि ३ चैतमा निर्वाचन हुँदैछ । २५ फागुनमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपका थिए । उनले सोमबार पद तथा गोपनियताको सपथ लिएसँगै पदभार ग्रहण गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us