सातै प्रदेशमा पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ फागुन २४ गते १३:२१ मा प्रकाशित

काठमाण्डु,२४ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने बताएका छन ।

आज (बुधबार) ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

सम्बोधनमा प्रधानमन्त्रीले भने, ‘यसैगरी सात वटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ। साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिनेछ । ’

साथै प्रधानमन्त्री प्रचण्डले करिब ३४ प्रतिशत महिलाहरूमा प्रजनन उमेर समूहका महिलाहरूमा देखिएको रक्त अल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us