सेयर बजार २२ अंक बढ्यो

काठमाण्डु टुडे २०७१ साउन २ गते ९:३८ मा प्रकाशित
काठमाण्डु , २ साउन –  यस साता सेयर बजार मापक सुचक नेप्से २२ अंकले बढेको छ ।
nepseगत साताको विहीवार १०२३ मा रहेको नेप्से यस साता भने १०४५ मा आएर बजार बन्द भएको छ । साताको पहिलो दिन बजार बढेपनि दोस्रो र तेस्रो दिन घटेको थियो ।
बजारले अन्तिम दुई दिनमा पुनः गति लिएपनि अधिकांश कम्पनीहरुको सेयर मूल्यमा ठुलो परिवर्तन भएको छैन । 
विशेषगरी मौद्रिक नीतिको पखाईमा रहेका लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा छन ।
मौद्रिक नीतिले मार्जिन ल्याण्डिङमा कडाइ गर्ने, बैंक तथा वित्तीय संस्थालाई बीमा कम्पनीहरुको सेयर खरिद गर्न बन्देज गर्ने चर्चा चलेकोले पनि लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा देखिएका छन । तर यस्तो कुनै पनि निर्देशन राष्ट्र बैंकबाट नआउने सभावना रहेको छ ।
शुक्रवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसले नै बजारको दिशा निर्धारण गर्ने छ । बैंक तथा वित्तीय संस्थाको गत आवको कार्य प्रगती देखिने वित्तीय विवरणले पनि बजारमा प्रभाव पार्ने छ । 
साताभरमा बजारमा कारोबार रकम भने २८.६१ अंकले घटेको छ । गत साता चार अर्ब ४७ करोड रुपैयाँको कारोबार भएकोमा यस साता तीन अर्ब १९ करोडमा सिमित भयो । बैंकिङ , बीमा र जलविद्युत् समूहको प्रभाव बजारमा देखियो । बैंकिङ समूहको परिसूचक साताभरमा २१.६२ अंक, बीमा ३६ अंक, जलविद्युत् ६९ अंक, होटेल र बिकास बैंक दुवै २४ अंक र ‘अन्य’ ३४ अंकले बढेको छ । 
सातामा चिलिमे जलविद्युत् कम्पनीको सेयर सबैभन्दा धेरै ३६ करोड रुपैयाँको कारोबार भयो । त्यस्तै, नेपाल बैंकको १९ करोड, नेशनल हाइड्रोको १४ करोड रुपैयाँको कारोबार भयो ।
यस साता ५५ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको छ । कञ्चन डेभलपमेन्टको ९९ हजार छ सय ८२, पूर्णिमा बिकासको एक लाख, एलायन्स इन्स्योरेन्सको दुई लाख दुई हजार नौं सय ८४, हिमालयन बैंक १३ लाख ८० हजार, कुमारी बैंकको २२ लाख ४४ हजार आठ सय ९७, अरनिको  डेभलपमेन्टको एक लाख छ हजार तीन सय कित्ता बोनस सेयर सूचीकृत गरेको छ । 
त्यस्तै, सृजना फाइनान्सको पाँच लाख ४० हजार, एशियन लाइफको दुई लाख ५६ हजार दुई सय ९७, विश्व बिकास बैंकको छ लाख ३० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएका छन । 
शुक्रवार नेप्सेले निलगिरी बिकास बैंकको १९ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत भएको उल्लेख गरेको छ । साउन दुईबाट बैंकको संस्थापक सेयर ५१ प्रतिशतमा सिमित भएको छ भने बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको रहने छ ।    

विजमाण्डुबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us