
काठमाण्डु, १७ पुस– पोखरामा नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका अवसरमा पोखरा महानगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
विमानस्थलको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम छ । महानगरले एक सूचना प्रकाशित गर्दै बिदा दिइएको जानकारी गराएको हो । सूचनामा महानगरपालिका कार्यालय महाशाखा, शाखा, ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक संघसंस्था बन्द हुने उल्लेख छ ।
महानगर प्रमुख धनराज आचार्यले व्यापक जनसहभागितामा विमानस्थल उदघाटन गर्न बिदा दिइएको बताए । यस्तै महानगरले निजी क्षेत्रलाई समेत आज बिदा दिन आग्रह गरेको छ । आचार्यले साँझ घरघरमा दिपावली गर्न पनि अपिल गरे ।