
काठमाण्डु,२९ मंसिर– प्रधानमन्त्री एवंम् नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त हुनु पर्ने बताएका छन ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै काठमाण्डु विश्वविद्यालयका कूलपति समेत रहेका देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
उनले काठमाण्डु विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशिल, सिर्जनशिल र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउँदै आएको बताएका छन ।
उनले भने, “विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरुमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पु¥याउने पवित्र शैक्षिक केन्द्र हो विश्वविद्यालयहरू राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्दछ ।”
उनले नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाण्डु विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभइ विदेशमा पनि महत्वपूर्ण संस्थामा आवद्ध भई उत्कृष्ट सेवा पुर्याउँदै आउनु सबैका लागि गर्वको विषय भएको उनले बताएका छन ।
उनले काठमाण्डु विश्वविद्यालयका विभिन्न सङ्कायमा दीक्षित भएका विद्यार्थीलाई बधाई व्यक्त गरेका छन् । भविष्यमा भौतिक तथा प्राज्ञिक विकासका लागि निरन्तर सहयोग प्राप्त हुने उनले अपेक्षा व्यक्त गरेका छन् ।
सो क्रममा उनले काठमाण्डु विश्वविद्यालयबाट पहिलो पटक ‘मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा छ जना र मास्टर्स अफ साइन्स सेटिटेसन टेक्नोलोजीमा एक जना गरी सात जनालाई उपाधि प्रदान गरेका छन् ।