
काठमाण्डु, १३ मंसिर– कांग्रेस महामन्त्री गगन थापाले मुलुकले आफूलाई प्रधानमन्त्रीको भूमिकामा चाहेको दाबी गरेका छन् ।
मुलुकमा युवाहरुको नेतृत्व आवश्यक भएको उनको भनाइ थियो । आफ्नै निवासमा सञ्चारकर्मीसँथ थापाले जनताको भरोसा जगाउन पनि आफू प्रधानमन्त्री बन्नुपर्ने बताए ।
थापालाई भेट्न काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा मंगलबार उनको निवास पुगेका थिए । शर्माले भेटेर गएपछि थापाले काँग्रेसले मुलुकको नेतृत्व गर्ने र त्यसमा पनि युवाको हातमा नेतृत्व जानुपर्ने पक्षमा आफूहरु रहेको उल्ल्ेख गरे । पार्टीमा अरु नेताले पनि प्रधानमन्त्रीको दाबी गर्नु स्वभाविक भन्दै थापाले रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायत नेता आफ्नो पक्षमा रहेको जिकिर गरे ।
कुनै बेला आफूले पौडेल र सिंहलाई संसदीय दल निर्वाचनमा सघाएकाले ती नेताहरुले आफ्नो गुन तिर्ने विश्वास व्यक्त गरे । ‘यो बेलामा नेपाली कांग्रेसको तर्फबाट युवा पुस्ताको प्रतिनिधिले देश हाँक्छु भनेर अघि बढ्नुपर्छ । यो पार्टीको लागि पनि आवश्यक छ’, थापाले भने । थापाले काँग्रेसका अधिकांश सांसदसँग आफूले टेलिफोन र कतिपय नेतासँग भेटेरै दल नेतामा सहयोग मागेको भन्दै सकारात्मक जवाफ प्राप्त भएको जानकारी दिए ।
महामन्त्री थापाले नयाँ नेतृत्वको बारेमा पार्टी सभापति, वरिष्ठ नेता र अग्रज नेताहरुसँग कुरा गर्न बाँकी रहेको र अग्रज नेताहरुकै समर्थन र आशीर्वादमा आफूले कांग्रेसबाट देशको अबको नेतृत्व गर्ने दाबी गरे । काठमाण्डु क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थापा निर्वाचन अघिबाटै अबको नेतृत्व आफूले गर्ने बताउँदै आएका छन् ।
पार्टीबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, नेता शेखर कोइराला लगायतले प्रधानमन्त्रीमा दाबी गरिरहँदा महामन्त्री थापालाई संसदीय दलको नेता चुनिन सहज ठानिएको छैन ।