नुवाकोट, २ भदौ– चार बुँदे सहमतिपछि पनि सिलडोल बञ्चरे डाँडाका प्रभावितले काठमाण्डु उपत्यकाको फाहोर बिसर्जनमा अवरोध गरेका छन् ।
बिहीबार फोहोर लिएर गएका गाडी स्थानीयले रोकेका हुन् । यसअघि काठमाण्डु, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष र धादिङको धुनिबेसी नगरपालिकाका मेयरको रोहबरमा प्रभावितका प्रतिनिधि र काठमाण्डु महानगरपालिकाबीच फोर फाल्ने दिनेसम्बन्धी चार बुँदे सहमतिमा हस्ताक्षर भएको थियो ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले स्थानीयले फोहोर फाल्न अवरोध गरेको जानकारी दिए । सिसडोल बञ्चरेडाँडा सरोकार समिति संयोजक नवराज ढुंगाना विश्वासले केही दिनअघि पक्राउ परेका युवाको रिहाई नभएसम्म फोहोर बिसर्जन गर्न नदिने बताए ।
फोहोर रोक्न आन्दोलनमा उत्रिएका धुनिबेसीका युवकलाई गाडी जलाएको आरोपमा प्रहरीले तीन दिनअघि नियन्त्रणमा लिएको थियो । चार बुँदे सहमतिमा पक्राउ परेकाको रिहाइबारे उल्लेख भए पनि मौखिक सहमति भएको सरोकार समितिका पूर्वअध्यक्ष राममणि घिमिरेले बताए । तर, महानगरले सहमतिअनुसार पक्राउ परेकालाई नछाडेकाले स्थानीय आक्रोशित भएको घमिरिले उल्लेख गरे ।