
काठमाण्डु, २६ साउन– निर्वाचन आयोगले आगामी ४ मंसिरमा घोषित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलले आगामी भदौ १० देखि १२ गतेसम्म निवेदन दिनुपर्ने बताएको छ ।
आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भदौ १० देखि ३ दिनसम्म समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचनमा भाग लिन चाहने दलले कान्तिपथस्थित आयोगको निवेदन दिन सक्ने बताए ।
पौडेलका अनुसार त्यसरी निदेवन दिएका दलले भदौ १५ गते चुनाव चिह्न पाउने छन् । यस्तै २ र ३ असोजमा राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची पेश गर्नुपर्ने छ । आयोगले ९ कात्तिकमा बन्दसूची प्रकाशन गरिने जनाएको छ ।
आयोगले एउटै व्यक्तिको नाम एकभन्दा बढी दलको सूचीमा राखेको पाइए स्वतः उम्मेदवार रद्ध हुने स्पष्ट गरेको छ । यस्तै प्रतिनिधिसभा वा प्रदेशसभामध्ये कुनै एकमा मात्र नाम भएका उम्मेदवारले मात्र मान्यता पाउनेछन् ।