भारतले पेट्रोलमा झण्डै १५ रूपैयाँ, डिजेलमा १६ रूपैयाँ मूल्य घटाएर पठायो

काठमाण्डु टुडे २०७९ साउन १ गते १७:०४ मा प्रकाशित

काठमाण्डु, १ साउन– इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्या गिरावट आएसँगै आइओसीले नेपालका लागि मूल्य घटाएर पठाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १ डलरमा कारोबार भइरहेको छ । गत फागुनमा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रतिब्यारेल १ सय २३ डलर थियो ।

आइओसीले शनिबार पठाएको नयाँ मूल्यमा पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको छ । निगम प्रवक्ता विनितमणि उपाध्यायले भारतले मूल्य घटाएर पठाएको बताए ।

तर, नेपालमा मूल्य घटाउने वा नघटाउनेबारे निर्णय नभएको उनले उल्लेख गरे । विगतको घाटा व्यवस्थापन गर्न तत्काल मूल्य घटाउन सक्ने अवस्थामा निगम नरहेको उनको भनाइ थियो ।

आइओसीलाई ३० अर्ब रुपैयाँ तिर्न बाँकी रहेको उपाध्यायले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us