ग्लोबल आईएमई बैंकद्वारा लण्डनमा बृहत अन्तरक्रिया आयोजना

काठमाण्डु टुडे २०७९ असार ३१ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, ३१ असार– विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैर आवासीय नेपालीहरुलाई आह्वान गर्दै ग्लोबल आइएमई बैंकले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडको संयुक्त अधिराज्यको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिनुका साथै मुलुकभित्र विदेशी मुद्रा तथा विदेशी लगानी भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आह्वानसमेत गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोलेर मुलुकभित्र विदेशी मुद्रा भित्र्याउन र दिगोरुपमा नेपालमै वैदेशिक मुद्राको श्रोत बन्ने पर्यटन पूर्वाधार तथा जलविद्युत आयोजनामा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष ढकालले धेरै मुलुकहरुको दाँजोमा नेपालमा लगानीकोे सम्भावना बढी रहेको र प्रतिफल पनि राम्रो रहेको बताए । ‘हामीले चन्द्रागिरिमा एकीकृत पर्यटकीय गन्तब्य विकास गरेका छौं र यस्तै मोडलको एकीकृत पर्यटन पूर्वाधार नेपालका ७ वटै प्रदेशमा निर्माण गर्न गइरहेका छौँ । गैरआवासीय नेपालीहरुसँगको सहकार्यमा लम्जुङ्ग जिल्लामा निर्माण भएको जलविद्युत आयोजना सम्पन्न हुने क्रममा रहेको छ भने म्याग्दी जिल्लाको कालिगण्डकी नदीमा दुईवटा जलविद्युत आयोजना निर्माण गर्दैछौं’, उनले भने, ‘तपाईहरुले पनि नेपालमा लगानी बढाउनुस् । राज्यलाई पनि सहयोग गर्नुहोस् ।’

उनले नेपाल सरकार, नेपाल राष्ट्रबैंकले विदेशी मुद्रा संचितिमा आएको कमीलाई मध्यनजर गर्दै नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न मिल्ने प्रावधान ल्याएको बताउँदै यसमा सहयोग गर्न गैरआवासीय नेपाली संघ तथा सम्पूर्ण नेपालीहरुलाई आग्रह समेत गरे ।  ‘यता विदेशमा बिनाब्याजमा यहाँका बैंकमा राखेको पैसा यदि नेपालमा नेपाली बैंकमा विदेशी मुद्रामा नै राख्ने हो भने त्यसको व्याजसमेत पाइन्छ । आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिषा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरुले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरुले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ’, उनले भने ।

ढकालले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीहरुले भूमिका खेल्नुपर्ने बताए । ‘यसका लागि तपाईहरुले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलिदिनुपर्यो । नेपालमा थप बैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिनुपर्यो’, उनले भने ।

बेलायतस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनालले मुलुकको अर्थतन्त्र बचाउन र मुलुकको विकासमा गैर आवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन र पर्यटक बढाउन गैर आवासीय नेपालीलाई समेत आग्रह गरे । खनालले ग्लोबल आइएमई बैंकले विदेशी मुद्रा भित्र्याउन गरेको पहलको प्रसंशा गर्दै दुताबास पनि यसमा सहकार्य गर्न तत्पर रहेको बताए ।
उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृति रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पारेका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगर, ब्रिटेन नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष विराज भट्ट, ह्याम्पसायर पोलिस कन्टाबुलरीका सल्लाहकार शिवजी श्रेष्ठ, लण्डन बोरो अफ बार्नेटका काउन्सिलर लक्ष गुरुङ्ग, टीएनबी ग्यारिसनका कमाण्डिङ् अफिसर तोल काम्चालगायतले आफ्नो धारणा राखेका थिए ।

उनीहरुले बैंकले विदेशमा रहेका नेपालीहरुको सेवा र सजिलोको लागि नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था गरेकोमा बैंकको प्रसंशा गर्दै यसले गैरआवासीय नेपालीको आवश्यकतालाई पूर्ति गर्ने र नेपाललाई सम्भावित आर्थिक संकट टार्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा बैंकका युके प्रतिनिधि अमित चालिसेले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पार्दै बैंकका सेवाहरुबारेमा प्रस्तुतिकरण दिएका थिए ।

मुलुकभित्र ७७ जिल्लामा २ सय ८९ शाखा रहेको नेपालकै पहिलो निजी क्षेत्रको बैंकले २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २९ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us