
काठमाण्डु, १९ असार– शिक्षामन्त्री देवेन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई माओवादीमा फिर्ता ल्याउन लागिएको बताएका छन् ।
पौडेलले माओवादी केन्द्रभित्र बाबुरामलाई फिर्ता ल्याउनेबारे छालफल चलेको बताए । माओवादी केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा आइतबार सञ्चारकर्मीसँग पौडेलले बाबुराम मुलघरमा फर्कने सम्भावना रहेको औंल्याए ।
‘बाबुराम भट्टराईलाई माओवादीमै फिर्ता हुन म सार्वजनिक रूपमा आह्वान गर्न चाहन्छु,’ उनले भने, ‘उहाँ माओवादीमा फर्कने सम्भावना छ । कुराकानी पनि भइरहेका छन् ।’ बाबराम माओवादी जनयुद्धबाट आएका नेता भएकाले उनलाई पार्टीमा स्वीकार गर्न कसैलाई आपत्ति नरहेको पौडेलले सुनाए ।
जसपामा आन्तरिक विवाद चर्किंदै गएपछि भट्टराई र संघीय परिषद अध्यक्ष उपेन्द्र यादवबीच सल्लाहकै अलग हुने सहमति भएको थियो । यो बीचमा भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डललाई उपराष्ट्रपति निवासमा भेटेर वार्ता गरेका थिए ।