
काठमाण्डु – मुलुकले झेल्दै आएको आन्तरिक तथा बाह्य राष्ट्रियताको मुद्धालाई झल्काउने नयाँ चलचित्र ‘सेभ द कन्ट्री’ निर्माण हुने भएको छ ।
चलचित्र घोषणा कार्यक्रममा बोल्दै सूचना मन्त्री मिनेन्द्र रिजाले यस्ता राष्ट्रवादी चलचित्र बन्दै जाओस् भन्दै सफलताको शुभकामना दिए ।
कार्यक्रमका विशेष अतिथि नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले यो राष्ट्रियता जोगाउने अभियान हो । यसले राष्ट्रियताको दुरुह अवस्थालाई चित्रण गर्न सहयोग गर्नेछ । यो यात्रामा मेरो पनि सहयोग रहने प्रष्ट पारे ।
त्यस्तै कार्यक्रममा एमाओवादी सभासद जनार्दन शर्मा ‘प्रभाकर’ ले यो राष्ट्रियता जोगाउने आन्दोलन हो । यस्ता महान कार्यप्रति सक्दो सहयोग गर्ने वचन दिएका छन् ।
जनताले भोग्दै आएको समस्यालाई उजागर गर्न यो चलचित्र कोशेढुङगा साबित हुने निर्माता लब प्याकुरेलले जानकारी दिए । साथै यो कुनै दल विशेषको चलचित्र नभएर समग्र मुलुकको अवस्था प्रतिबिम्वित गर्ने प्रयास हो भन्दै शंका नर्गन आग्रह गरेका छन् ।
सूर्यकुमार रेग्मीको लेखन तथा निर्देशन रहने चलचित्र २ घण्टा २० मिनेटको हुनेछ । जनयुद्धकालमा बढि प्रभावित भएका क्षेत्रमा छायाकन हुने निर्माता प्याकुरेलले जानकारी दिए ।