नेपालसँग रिसायो चीन

काठमाण्डु टुडे २०७९ वैशाख ९ गते ७:०९ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख– सरकारले केही दिनअघि एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको सम्झौता चिनियाँ कम्पनीसँग रद्द गरेपछि चीन असन्तुष्ट बनेको छ ।

बिहीबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भर्चुअल पत्रकार सम्मेलनमा बोल्ने क्रममा घुमाउरो ढङ्गले त्यसबारे असन्तुष्टि व्यक्त गरेकी हुन् ।

उनले नेपालले चिनियाँ उद्यमका वैधानिक अधिकारको रक्षा गर्नुपर्ने बताएकी छन् । म आशा गर्छु, नेपाली पक्षले चिनियाँ उद्यमका वैधानिक अधिकार र चासोको पूर्ण रक्षाका लागि निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण प्रदान गर्नेछ, उनले भनिन् । चिनियाँ लगानीकर्ताका व्यावहारिक समस्या समाधानका लागि नेपालले सहयोग गर्ने विश्वास उनले व्यक्त गरेकी छन् ।

पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले नेपालमा सरकार परिवर्तन हुने बित्तिकै लगानीसम्बन्धी नीतिमा पनि परिवर्तन हुने र यसले जलविद्युत् लगायत क्षेत्रका ठुला परियोजना निर्माणसम्बन्धी नीतिमा पनि परिवर्तन हुँदा लगानीकर्तालाई अप्ठेरो पर्ने गरेको बताइन् । सरकार परिवर्तन हुने बित्तिकै लगानीसम्बन्धी नीति पनि परिवर्तन हुने प्रवृत्ति हुन नहुने उनको धारणा थियो । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us