हाम्रो पार्टी फैलावट भइसकेको छैनः राजेन्द्र पाण्डे

काठमाण्डु टुडे २०८२ जेठ ३ गते १६:२३ मा प्रकाशित

काठमाण्डू, ३ जेठ– नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफूहरू पार्टी निर्माणको चरणमै रहेको दाबी गरेका छन ।

आज (शनिबार) काठमाण्डूमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन । उनले नेकपा (एकीकृत समाजवादी) देशभर विस्तार गर्ने चरणमा रहेको बताए । उनले सात प्रदेश, सात सय ५३ पालिका स्तरमा अझै फैलावट नभइसकेको स्विकार समेत गरे ।

उनले भने, ‘हामीले भर्खरै पार्टी निर्माण गरेका छौँ । हाम्रो पार्टी देशभर ७५३ वटा पालिका, सातै वटा प्रदेश, सबै ठाउँमा जुन तहको फैलावट हुनुपर्ने हो त्यो भइसकेको छैन ।’

उनले नेतृत्व निर्माण गर्ने बेलामा विवाद गरेर बस्न नहुने भन्दै संगठनलाई सफल बनाउन लाग्नुपर्ने पनि बताएका छन । उनले भने, ‘यतिबेला नेतृत्व निर्माण गर्ने बेलामा हामी विवाद गरेर, एक अर्कासँग झगडा गरेर, एक अर्काबीच असमझदारी सिर्जना गरेर गयौँ भने हामी यो संगठनलाई पनि सफल बनाउन सक्दैनौँ ।’

वरिष्ठ उपाध्यक्ष पाण्डेले देश निर्माण महिलाहरूको भूमिका अविष्मरणीय रहेको समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us