राजस्व न्यायाधिकरणमा झन्डै ८ अर्ब बराबरको चलखेल !

काठमाण्डु टुडे २०७९ वैशाख ८ गते ७:२७ मा प्रकाशित

काठमण्डु, ८ वैशाख– विभिन्न करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएको राजस्व न्यायाधिकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल भएको पाइएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ ।

समितिले छानबिनका लागि बुधबार पत्राचार गर्दै सबै विवरण माग गरेको छ । धरौटी रकममा सेटिङमार्फत अर्बौँको चलखेल भएको स्रोतको दाबी छ ।

राजस्व न्यायाधिकरणको काठमाडौँ, विराटनगर, पोखरा, नेपालगन्ज कार्यालयले करसम्बन्धी मुद्दाको पुनरावेदन दर्ता गर्ने क्रममा मिलेमतो गरी धरौटी नै नलिई मुद्दा दर्ता गरिदिएको पाइएपछि लेखा समितिले त्यस सम्बन्धमा छानबिन थालेको हो ।

लेखा समितिका अनुसार विभिन्न सूचनाका आधारमा न्यायाधिकरणले पुनरावलोकन मुद्दा दर्ता गर्दा धरौटी नलिई मुद्दा दर्ता गरिदिएपछि राज्यकोषमा दाखिला हुनुपर्ने ५ अर्ब देखि ८ अर्ब रुपैयाँ दाखिला हुन नसकेको हो ।

लेखा समितिले बुधबार सर्वोच्च अदालतका रजिस्ट्रारलाई पत्र लेख्दै सबै न्यायाधिकरणमा दर्ता भएका मुद्दाको सम्पूर्ण विवरण लेखा समितिमा पठाउन आग्रह गरेको छ । राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us