वडा अध्यक्षले नै फोहोर रोकेपछि काठमाण्डु दुर्गन्धित

काठमाण्डु टुडे २०७८ चैत २५ गते ७:०१ मा प्रकाशित

काठमाण्डु, २५ चैत– पटकपटकको प्रतिबद्धतापश्चात् पनि मुड्खु-तीनपिप्ले खण्डको सडक कालोपत्रे नगरेपछि आठ दिनदेखि उपत्यकाको फोहोर रोकेर विरोध गरेका स्थानीयले कालोपत्रे नगरेसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने भएका छन् ।

सारदा अधिकारीको शैलुङ कन्ट्रसनले ठेक्का लिएको ७ वर्षसम्म पनि कालोपत्रे नगरेको भन्दै स्थानीयले दोस्रोपटक फोहोर बिसर्जन ठप्प पारेका छन् । यतिका समयसम्म कालोपत्रे नगर्ने ठेकेदारलाई सरकारले कारबाही नगरेपछि स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेका हुन् ।

सरकारवारा गठित टाक्स फोर्सका अधिकारीले समेत तत्काल बाटो कालोपत्रे गर्न दिएको निर्देशनलाई वेवास्ता गरेको ठेकेदारको अटेरीपनले गर्दा राजधानी पूर्ण रूपमा दुर्गन्धित हुन पुगेको छ । स्थानीय तारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मनोहरी तिवारीले अटेरी ठेकेदारका कारण बाध्य भएर फोहोर रोक्नुपरेको बताए​ ।

ठेकेदारले सरकारकै संरक्षण पाएको कारण हालसम्म काम नगरेको आरोप लगाउँदै फोहोर व्यवस्थापन अवरुद्ध गर्न बाटोमा बसेका स्थानीयले भने, जबसम्म बाटो कालोपत्रे हुँदैन, तबसम्म फोहोर लैजान दिदैनौं  । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us