
कञ्चनपुर, ५ असार – एमाले महासचिव ईश्वर पोखरेलले नवाँै महाधिवेशनमा नेतृत्वका आकाङ्क्षी माधवकुमार नेपाललाई पद बिनाको शक्तिशाली नेता बनाउन चाहेको जानकारी दिए ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आज प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले माधव नेपालले लामो समय पार्टी नेतृृत्व हाँकेकाले उहाँ सम्मानपूर्वक बस्नुपर्ने बताए । उहाँलाई सम्मानका लागि पद बिनाको शक्तिशाली नेता भएको हेर्न चाहन्छौँ उनले भने ।
पार्टीका वरिष्ठ नेता भएकाले योग्यता र क्षमताका आधारमा भन्दा पनि लामो समय पार्टी नेतृत्व गरिसकेकाले उहाँले आफ्नो सम्मानका लागि नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिए ।
एमालेको आठौँ महाधिवेशनमा वरिष्ठ नेता नेपालले केपी ओलीलाई नै सघाएकाले नवाँै महाधिवेशनबाट ओलीको नेतृत्वमा सर्वसम्मत हुने नेता पोखरेलको दाबी थियो । एमाले अध्यक्ष झलनाथ खनालले सहमतिमा जोड दिएकाले नेतृत्व हस्तान्तरण सहमतिमै हुनसक्ने धारणा व्यक्त गरे ।
सत्ता साझेदार काँग्रेससित सरकार सञ्चालनमा केही विमति देखिए पनि लोकतान्त्रिक संविधान नबन्दासम्म साझेदारी सम्बन्ध कायम रहने बताएका छन् ।