
असार, ५ असार– गृह मन्त्रालयले आगामी ८ असारमा संविधानसभाको उपनिर्वाचन हुने जिल्लाहरुका सार्वजनिक बिदा दिएको छ ।
गृहले बिहीबार एक सूचना जारी गर्दै ती जिल्लामा निर्वाचन आयोगको सिफारिसमा सार्वजनिक बिदा दिइएको जनाएको हो ।
उक्त दिन सबै सरकारी, अर्धसरकारी र संस्थान बन्द हुनेछन् । ४ मंसिरको संविधानसभा निर्वाचनमा दुई क्षेत्रबाट निर्वाचित सभासदले छाडेका काठमाण्डु–२, चितवन–४, कैलाली–६ र बर्दिया–१ मा उपनिर्वाचन हुन लागेको हो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार नै सूचना प्रकाशित गरी असार ६, ७ र ८ गते काठमाडौं क्षेत्र नं. २ मा मदिराजन्य वस्तुको उत्पादन, ओसार पसार, बेचविखन र सेवा निषेध गर्ने जनाएको छ ।
बिहीबार रातिदेखि नै सुरु हुने मौन अवधिमा वैद्य हातहरियार ओसारपसार गर्न पनि रोक लगाइएको छ ।
बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म काठमाडौं क्षेत्र नं. २ मा बिना अनुमति सवारी सञ्चालनमा रोक लगाइएको छ । हवाई यात्रुलाई भने टिकट र अनुमतिपत्रका आधारमा छुट दिइएको छ ।
यसैगरी भक्तपुर जिल्लाबाट मनहरा पुल भएर काठमाडौं आउने सवारीसाधनलाई जडीबुटी, कोटेश्वर हुँदै बालकुमारीतर्फ चल्न दिइने प्रशासनको सूचनामा उल्लेख छ । ती सवारी साधनले मनहरा पुलदेखि बालकुमारीसम्म रोक्न र यात्रु चढाउन पाउने छैनन् ।