
नवलपरासी, ४ असार– नवौं महाधिवेशन नजिकिंदै जाँदा एमाले अध्यक्षका आकांक्षी माधव कुमार नेपाल र केपी शर्मा ओली पक्ष एकअर्काविरुद्ध आक्रामण रुपमा प्रस्तुत हुन थालेको छ ।
जिल्लास्तरमा समेत कार्यकर्ता स्पष्ट रुपमा दुई गुटमा बाँडिएका छन् । विवाद र अस्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा नवलपसारीमा बुधबार वरिष्ठ नेता नेपाल सहभागी कार्यक्रम ओली पक्षले बहिस्कार गरेको छ ।
नेपालको कार्यक्रम बहिस्कार गर्नेमा ओली पक्षीय जिल्ला अध्यक्ष तिलक महत, उपाध्यक्ष रोशनबहादुर गाहामगर, सचिव जीवन श्रेष्ठ, केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा. शोभाकान्त ढकाल, क्षेत्र नम्बर–२ अध्यक्ष हुमनाथ सुवेदीलगायत छन् ।
ओली पक्षले भने खबर नगरी रेडियोबाट सूचना प्रसारण गरेका कारण कार्यक्रममा नगएको दाबी गरेको छ । कावासोतीमा भएको कार्यकर्ता भेलामा ओली पक्ष नगएको हो । यसअघि मंगलबार गैंडाकोट र प्रगतिनगरमा भएको नेपाल सहभागी कार्यक्रम पनि ओली पक्षले बहिस्कार गरेको थियो ।
कार्यक्रममा बोल्दै नेता नेपालले ओली पक्षले आफ्नो कार्यक्रम बहिस्कार गरेकामा आक्रोश पोखे ।
उनले ओली पक्ष विचारको बहसबाट भागेको आरोप लगाए । ओली पक्षधर अध्यक्ष महतले भने ओली सहभागी लुम्बिनी अञ्चल स्तरीय कार्यक्रम नेपाल पक्षले बहिस्कार गरेकाले आफूहरु पनि नेपालको कार्यक्रममा नगएको बताए ।
उनले नेपालले गुटगत भेला गरेको आरोल लगाए । गत ३१ जेठमा बुटवलमा भएको ओली पक्षको लुम्बिनी अञ्चलस्तरीय भेलामा नेपाल पक्ष सहभागी भएको थिएन ।