
काठमाण्डु, १६ पुस– छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना पुगेको छ ।
मंगलबार ९ हजार १ सय ९५ जना कोरोना संक्रमित देखिएकोमा बुधबार भारतमा १३ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिए । यो संख्या भनेको एक दिनको फरकमा ४४ प्रतिशतले बढी हो । यसरी भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसँगै संक्रमित दर थपिँदा त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।डेल्टा भेरियन्टले विश्व नै आक्रान्त बनेको पीडा भुल्न नपाउँदै हाल देखिएको नयाँ भेरियन्टले चुनौती थपिएको छ । तर, यसअघि देखिएका भेरियन्टभन्दा कमजोर भएको भन्दै जनस्वास्थ्य मापदण्ड पालना नहुँदा ओमिक्रोन भेरियन्ट फैलिने क्रम बढिरहेको छ ।