अफगानिस्तानमा निर्वाचन आयोगले धाँधली गरेको आरोप

काठमाण्डु टुडे २०७१ असार ४ गते १३:२४ मा प्रकाशित

काबुल, ४ असार – अफगानिस्तानका राष्ट्रपति पदका प्रमुख उम्मेदवार अब्दुल्लाह अब्दुल्लाहले बुधबार भएको निर्वाचनमा निर्वाचन आयोग नै धाँधलीमा संलग्न भएको आरोप लगाएका छन् ।

उनले एक पत्रकार सम्मेलनमा धेरै मतदान केन्द्रमा आफ्ना पर्यवेक्षकको अनुपस्थितिमा मतपेटिका भरिएको र केही स्थानमा आफ्ना पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति नदिइएको र अनियमितताका धेरै घटनाहरू देखिएको र त्यसका विषयमा प्रमाण जुटाइएको दाबी गरे ।

निर्वाचन आयोगप्रति आफूहरूको विश्वास गुमेको बताउँदै यस संस्थालाई निलम्बन गर्न माग गरे । साथै निर्वाचन आयोगसँगको संलग्नता तोडिएको बताए ।
जुन १४ मा अफगानिस्तानमा दोस्रो चरणको निर्वाचनमा व्यापक अनियमितता भएको आरोप लगाइएको छ ।

आमसञ्चारले दिएको समाचारमा स्वतन्त्र निर्वाचन आयोगका कर्मचारीका साथै निर्वाचन आयोगको सचिवालयका प्रमुख जिया–उल–हक अमरखिलले पनि यस प्रक्रियामा धाँधली गरेको आरोप लगाइएको छ ।

अब्दुल्लाहले मतगणना तत्कालै रोकिनुपर्ने बताउँदै निर्वाचन आयोगले मतगणनाको कार्य निरन्तर राखे आफूले यसको नतिजा स्वीकार नगर्ने जिकिर गरे ।

अप्रिल महिनामा पहिलो चरणको निर्वाचनमा प्रमुख उम्मेदवारको रूपमा अब्दुल्लाहले ७० लाख मतदातामध्येबाट ४५ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी अस्राफ घानी अहमदजईले ३१.६ प्रतिशत मत प्राप्त गरेका थिए । उनले दोस्रो चरणको मतदानमा विजय हासिल गरेको दाबी गरेका छन् ।

अब्दुल्लाहले अफगानिस्तानका जनताको निर्वाचन आयोग र सम्बन्धित निकायप्रति विश्वास गुमेको बताए ।

उनले जुन १४ मा दोस्रो चरणको निर्वाचनमा ७० लाख जनताले मतदान गरेको भनी निर्वाचन आयोगले गरेको दाबी बनावटी भएको बताए ।

दोस्रो चरणको मतदानको दिनमा अफगानिस्तानमा २७० व्यक्तिको मृत्यु भएको थियो भने त्यसमा ४१ सामान्य नागरिक परेका थिए । लडाकूहरूले निर्वाचनमा भाग लिएको भनी एक दर्जन व्यक्तिको औँला काटिदिएका छन् ।

अब्दुल्लाहले आफ्ना अनुगमनकर्ताहरूलाई आफ्नो काम छोडी काबुल आउन आग्रह गरेका छन् ।

यस विषयमा निर्वाचन आयोगको हालसम्म कुनै प्रतिक्रिया आएको छैन । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us