
काठमाण्डु, १९ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्लाका ११ सामुदायिक वन उपभोक्ता समूहले आफूखुसी वन पैदावारको बिक्रीवितरण गरी अख्तियारको दुरुपयोग गरेको भन्दै विशेष अदालतमा सोमबार आरोपपत्र दर्ता गरेको छ ।
आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार वन पैदावारको आफूखुसी बिक्री वितरण गरी करिब रु एक करोड चार लाख भ्रष्टाचार गरेको देखिएकाले सोमबार आरोपपत्र दर्ता गरिएको हो । ती सामुदायिक वनमा साल, सिसौ, खयर र अन्य जातका रुखको छपान, कटान, मुछान, ओसारपसार र बिक्री वितरण गरिएका थिए ।
उनीहरुले वन नियमावली, २०५१ को नियम ३२ (१) को प्रावधान उल्लङ्घन गरी १६ हजार ३४४.३३ क्युफिट काठ हिनामिना एवम् हानिनोक्सानी गरी भ्रष्टाचार गरेको देखिन आएको छ ।
सो कार्यमा जिल्ला वन कार्यालय, बाँकेका तत्कालीन जिल्ला वन अधिकृत श्यामप्रसाद शर्मा र उपसचिव विश्वनाथप्रसाद महतो, सहायक वन अधिकृतहरु महन्थप्रसाद पण्डित, भीमप्रसाद पौडेल, अमरप्रसाद साह, अवकाशप्राप्त सहायक वन अधिकृत बालकृष्णप्रसाद पटेल र कृष्णवल्लभलाल कर्णसमेतका सात जनाको प्रत्यक्ष सङ्लग्नता देखिएकाले उनीहरुविरुद्धसमेत हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।
यस्तै सामुदायिक वनका अध्यक्ष मीना खड्का, कल्पना खड्का, डिलादेवी वली, सुनिता चौधरी, मीनकुमार खड्का, एकराज भण्डारी, चेतबहादुर पुन, खिमबहादुर खड्का, प्यारी गिरी कृष्णा विकलगायत २२ जनालाई समेत हदैसम्मको कारबाहीको माग दाबी गरिएको छ ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर गरेकाले सोही उपदफाबमोजिम सजाय हुने आयोगको भनाइ छ ।