काठमाण्डु, २३ वैशाख– सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको नेपाली काँग्रेसले भावी सत्तासमीकरणबारे छलफल गर्न संसदीय दल बैठक बोलाएको छ ।
संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले शनिबारका लागि बैठक बोलाएका हुन् । शनिबार दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संसदीय दल बैठक बस्ने काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन चाहेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाखमा संसदको विशेष अधिवेशन बोलाएकी थिइन् । काँग्रेसले ओलीलाई विश्वासको मत नदिने संस्थागत निर्णय गरिसकेको छ ।
बुधबार आफ्नै निवासमा भेट्न आएका ओलीलाई देउवाले विश्वासको मत नदिने र विपक्षमा मतदान गर्ने स्पष्ट जवाफ दिएका थिए ।