प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँदैनः प्रचण्ड–नेपाल समूह

काठमाण्डु टुडे २०७७ फागुन २३ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, २३ फागुन– प्रधानमन्त्री केपी ओलीविरुद्ध पुर्नस्थापित प्रतिनिधिसभा बैठकमा अविश्वास प्रस्ताव दर्ता नहुने भएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेपछि पहिलोपटक आज संसद बैठक बसदैछ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

नेकपाको प्रचण्ड–नेपाल समूह, काँग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आफैंले गरेको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेका कारण नैतिकताका आधारमा प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । ती दलले प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वास प्रस्तावमार्फत हटाउने तयारी गरेका थिए ।

प्रचण्ड–नेपाल पक्षले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरे पनि नेताबीहरुबीच सरकारमा सहभागिताबारे समान धारणा बन्न नसक्दा काँग्रेसले ठोस निर्णय लिन सकेको छैन ।

संस्थापन इतर पक्षले प्रधानमन्त्रीबाट केपी ओलीको बहिर्गन जरुरी भए पनि जनादेशअनुसार काँग्रेस प्रतिपक्षमै रहनुपर्ने बताएको छ । काँग्रेसले निर्णय गर्न ढिलाइ गरेका कारण अविश्वास प्रस्ताव दर्ता नहुने नेकपाका एक सांसदले जानकारी दिए । सांसद अमनलाल मोदीले आज आफूहरुको तर्फबाट अविश्वास प्रस्ताव दर्ता हुने सम्भावना नरहेको जानकारी दिए । ‘केही तयारी बाँकी रहेकाले आज अविश्वास प्रस्ताव दर्ता हुँदैन’, मोदीले काठमाण्डुटुडेसँग भने ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवप्ी भण्डारीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकै दिन प्रचण्ड–नेपाल पक्षले संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । तर, काँग्रेस र जसपासँग मिलेर जाने भन्दै उक्त समूहले तत्काल अविश्वास प्रस्ताव अघि बढाउन चाहेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us