
काठमाण्डु, २२ फागुन– नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई आफ्नो पार्टीमा आउन अपिल गरेका छन् ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार आयोजित एक कार्यक्रममा प्रचण्डले विप्लवलाई आफ्नो पार्टीमा स्वागत गर्न चाहेको बताएका हुन् । उनले विप्लव शान्तिपूर्ण राजनीतिमा आएकामा प्रसन्नता व्यक्त गरे ।
विप्लव आफूले बनाएको शान्तिपूर्ण राजनीतिको मार्गचित्रमा आएको प्रचण्डले बताए । प्रचण्डले कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केही कार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए । ‘यस्तै कार्यक्रम गरेर विप्लवलाई पनि स्वागत गर्न चाहन्छु’, प्रचण्डले भने, ‘अन्नतः विप्लव मैले खनेकै बाटोमा आइपुग्नुभएको छ ।’
प्रचण्डले आफूले विप्लवलाई राम्रैसँग चिनेको भन्दै उनी आफ्नै बाटो र पार्टीमा समाहिन हुनुपर्ने तर्क गरे । ‘विप्लवलाई मैले जति चिनुको छु र जानेको छु, उहाँ अन्तिममा हाम्रै लाइन र पार्टीमा आउनैपर्छ ।’ सरकारसँग तीन बुँदे सहमतिमा हस्ताक्षर भएको भोलिपल्ट विप्लव शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएका थिए ।