हुँदै नभएको विद्यालयको नाममा भ्रष्टाचार, ४ जनाविरूद्ध मुद्दा दायर

काठमाण्डु टुडे २०८२ असार १९ गते १५:२३ मा प्रकाशित

काठमाण्डू, १९ असार– अस्तित्वमै नरहेको विद्यालयको नाममा योजना बनाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालत काठमाण्डूमा मुद्दा दायर गरेको छ ।

डोल्पाको तत्कालीन दुनै गाविसस्थित दुर्गा प्राथमिक विद्यालय तिप्लाको नाममा विद्यालय भवन निर्माणको योजना बनाएर ७ लाख ६० हजार रुपैयाँ रकम हिनामिना गरेको अभियोगमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

अनुसन्धानका क्रममा दुर्गा प्राथमिक विद्यालय नामको कुनै पनि विद्यालय त्यहाँ हालसम्म पनि सञ्चालनमा नरहेको, त्यही क्षेत्रका साविक वडामा श्री लालिगुँरास आधारभूत विद्यालय मात्र रहेको तथ्य पुष्टि भएको अख्तियारले जनाएको छ । शिक्षा कार्यालय र प्राविधिक टोलीको स्थलगत अनुगमन तथा प्रमाण सङ्कलनबाट उक्त विद्यालय काल्पनिक रहेको प्रमाणित भएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन ।

सोही काल्पनिक विद्यालयको नाममा उपभोक्ता समिति गठन गरी निर्माण खर्च देखाएर तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाले आपसी मिलेमतोमा झुटा कागजात तयार पारी योजना लागू गरेको आयोगको दाबी छ ।

उनीहरूले दुर्गा प्रा.वि.का नाममा जस्ता छाना र दुई कोठे भवन बनाएको झुट्टा विवरण प्रस्तुत गरी सरकारी कोषबाट रकम भुक्तानी लिएको पाइएको हो। चारै जनाविरुद्ध जनही ७ लाख ६० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us