
काठमाण्डु, २५ माघ– नेकपा विभाजनसम्बन्धी विवाद छिनोफानो गर्ने जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाको आधिकारिकताको टुंगो लगाउने जिम्मेवारी भण्डारीलाई दिएका हुन् ।
भण्डारीले २१ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए । यद्यपि संवैधानिक निकायमा गरिएको नियुक्ति र सपथविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन अवस्थामा छ । नेकपा विभाजनसम्बन्धी अन्तिम निर्णय भने आयोगका पाँचै सदस्य सहभागी बैठकले गर्नेछ ।
आयुक्तहरुबीच राय बाझिएको अवस्थामा अल्पमतले असहमतिको राय लेख्न पाउने व्यवस्था छ । आयोगले यसअघि नेकपाका दुवै समूह आयोगमा आधिकारिकता दाबी गर्न नआएको भन्दै दुवैथरिले विवरण अध्यावधिक गर्न दिएको निवेदन अस्वीकार गरेको थियो ।