ओलीको सरकारी सभाअघि शीतलनिवास अगाडि प्रदर्शन

काठमाण्डु टुडे २०७७ माघ २३ गते ११:१८ मा प्रकाशित

काठमाण्डु, २३ माघ– नेकपाको केपी ओली समूहको सरकारी प्रदर्शन र सभाअघि राष्ट्रपति भवन शीतलनिवास अगाडि प्रदर्शन भएको छ ।

संसद विघटनविरुद्ध आन्दोलनरत नागरिक आन्दोलनले शुक्रबार बिहान राष्ट्रपति भवन अगाडि प्रदर्शन र मार्चपास गरेको हो । समाजका अगुवा युग पाठकले असंवैधानिक रुपमा गरिएको संवैधानिक निकायको नियुक्तिविरुद्ध मार्चपास गरिएको बताए ।

राष्ट्रपतिले संविधान च्यात्ने र लोकतन्त्रको हत्या गर्ने काममा प्रधानमन्त्री ओलीको सहयोगी भूमिका खेलेकाले खबरदारीका लागि उनाको निवास अगाडि प्रदर्शन गरिएको पाठकको भनाइ छ । नागरिक अगुवाहरुले लैनचौरदेखि शीतलनिवासको गेट अगाडिसम्म मार्चपास गरेका थिए ।

मार्चपासका सहभागीले राष्ट्रपति ज्यू संविधान कहाँ छ ? सत्ता कब्जा मूर्दावाद, लोकतन्त्र जिन्दावाद, असंवैधानिक नियुक्ति मान्दैनौं जस्ता नारा लेखिएका पर्चा बोकेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us