केपी ओली भ्रष्टाचारीका संरक्षकः प्रचण्ड

काठमाण्डु टुडे २०७७ माघ ४ गते १५:१३ मा प्रकाशित

काठमाण्डु, ४ माघ– नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री भ्रष्टाचारीहरुको संरक्षक भएको आरोप लगाएका छन् ।

प्रचण्डले मुखले भ्रष्टाचरीको मुख हेर्दिन भन्ने ओलीले भ्रष्टाचारी जोगाउन अख्तियारमा मुद्दा चलिरहेका व्यक्रिलाई समेत सफाई दिने गरेको भन्दै कटाक्ष गरे ।

‘उहाँ म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने गर्नुहुन्छ, यो भनाइ भ्रष्टाचारी संरक्षणका लागि भन्दै आउनुभएको छ’, राजधानीमा आइतबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने । उनले ओली संविधानको हत्या गरेर हाँस्दै हिंडेको बताए । नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धीमाथि ओलीले प्रतिक्रियावादीहरुसँग मिलेर घात गरेको आरोप लगाए ।

‘नेपाली जनताले ७० वर्षसम्म गरेको संघर्षको जगमा प्राप्त राजनीतिक उपलब्धी र संविधान धरापमा परेको बेला केपी ओली हाँस्दै हिंड्नुभएको छ’, प्रचण्डले भने, ‘हामी यस्तो बेलामा हाँसेर हिंड्न सक्दैनौं ।’ उनले ओलीले कहिल्यै गणतन्त्र नरुचाएको टिप्पणी गरे । गणतन्त्रका लागि भएको आन्दोलनलाई खिसीट्युरीमा उडाउँदै ‘बयलगाढा चढेर अमेरिका पुग्न सकिन्न’ भन्दै हिंडेको स्मरण प्रचण्डले गरे ।

ओलीलाई पार्टीले प्रधानमन्बी बनाए पनि उनले पार्टी निर्णय नमानेको तथा बैठकमा अनुपस्थित भएको बताए । ओलीमा कम्युनिष्ट विचार, सिद्धान्त र व्यवहार नभएकाले उनी बुर्जुवा भएको टिप्पणी प्रचण्डले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us