
काठमाण्डु, २० पुस– नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिनिधिसभा पुर्नस्थापनापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई पदबाट हटाउने चेतावनी दिएकी छन् ।
उक्त समूहको अगुवा कार्यकर्ता भेलालाई चितवनको भरतपुरमा सोमबार सम्बोधन गर्दै झाँक्रीले भण्डारी र ओली दुवैको राजनीतिक भविष्य पत्तासाफ हुने दाबी गरिन् । भण्डारी र ओली दुवैमा सर्वसत्तावादी सोच हाबी भएको आरोप लगाउँदै झाँक्रीले राजा ज्ञानेन्द्रको हालत हुने जिकिर गरिन् । ‘निरंशुक राजालाई त लखेटेका हामीहरु विद्या र केपीको सर्वसत्तावादलाई सजिलै परास्त गर्न सक्छौं’, झाँझीले भनिन्, ‘संसद पुर्नस्थापना भएपछि दुवैैलाई राजालाई जसरी नै लखेटछौं, प्रतिनिधिसभा विघटनको हिसाबकिताब कसरी हुन्छ हामीलाई थाहा छ ।’ उनले प्रतिनिधिसभा विकटन गरेर प्रधानमन्त्री ओलीले जघन्य राजनीतिक अपराध गरेको आरोप लगाइन् ।
बाँचुन्जेल शक्तिमा रहने उद्देश्यले ओलीले संविधानले कहीं कल्पना नगरेको अधिकार प्रयोग गरेर संसद विघटन गरेको उल्लेख गरिन् । झाँक्रीले देशको प्रधानमन्त्री कमेडी र उखान टुक्कामा रमाउने गरेको उल्लेख गरिन् । ‘देश उखान÷टुक्का र कमेडीले बन्दैन’, उनले भनिन्, ‘देश बनाउन सोच चाहिन्छ, नेतृत्व क्षमता चाहिन्छ ।’ ओली भ्रष्टाचारीको संरक्षक भएको आरोप पनि झाँक्रीले लगाइन् ।
गोकुल बाँसकोटाको नाम उल्लेख नगरी उनले ७० लाख घूस असुली डिल भएको अडियो सार्वजनिक हुँदासमेत काखी च्यापेको भन्दै आक्रोश पोखिन् ।