
काठमाण्डु, १० पुस– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय अस्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अदालतप्रति आफूहरुको विश्वास र भरोसा रहेको बताए । प्रतिनिधिसभा विघटन संविधानको मर्म, भावना तथा जनताको अभिमतविरुद्ध भएको उल्लेख गरे । ‘अदालतले संविधानको मर्म र भावना तथा जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक रहेको फैसला गर्छ’, उनले भने, ‘अदालतप्रति हाम्रो विश्वास छ ।’
प्रचण्डले संसद विघटनको विषय अदालत र सडक दुवैको विषय भइसकेको भन्दै अदालतले प्रतिकूल निर्णय गरे त्यसको खिलाफमा खडा हुने संकेत गरे । ‘प्रतिनिधिसभा भंगको निर्णय अदालत र सडकमा गएको छ’, उनले भने । प्रचण्डले प्रतिनिधिसभा भंगविरुद्ध दलहरुबीच साझा मोर्चा बनाएर संयुक्त संघर्षमा जाने चेतावनी दिए ।