
काठमाण्डु , २६ फागुन -नेपालको एक मात्र चर्चित कमेडी सो कमेडी च्याम्पियनको ग्रान्ड फिनाले होटल सोल्टी वा आर्मी अफिसर क्लबमध्ये एकमा गर्ने भनिएको भएपनि कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’ च्याम्पियनको आफ्नै स्टुडियोमा हुने भएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसले गर्दा नेपाल सरकारले कुनै पनि सभा, समारोह भेला हुन प्रतिबन्ध गरेकाले कमेडी च्याम्पियन ग्रान्ड फिनाले आफ्नै स्टुडियोमा गर्न लागेको निर्देशक विशाल भण्डारी बताएका छन् ।
ग्रान्ड फिनालेमा अभिनेता राजेश हमाल र महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) अतिथि रहनेछन्। सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त ग्रान्ड फिनालेमा पुगेका छन्।
सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा कमेडी च्याम्पियनका निर्णायक छन्। शोको होस्ट रीमा विश्वकर्माले गर्दै आएकी छिन्।
आयोजकले तीनै जना प्रतिस्पर्धीलाई भोटिङ खुल्ला गरेको छ। त्यस्तै ग्रान्ड फिनालेको टिकट बिक्री पनि खुला गरिएको आयोजकले जनाएको छ। टिकट ई–सेवाबाट काट्न सकिने बताईएको छ।