नव जनजागृतिको शानदार जित

काठमाण्डु टुडे २०७६ फागुन ११ गते १८:२८ मा प्रकाशित

धनगढी,११ फागुन –धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमा विवेक चौधरीको ह्याट्रिकको मद्दतले नव जनजागृति युवा क्लब, सिमराले शानदार जित हासिल गरेको छ ।
आइतबार क्षेत्रीय रङ्गशालामा भएको खेलमा जनजागृतिले मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । जितसँगै जनजागृति युवा क्लब क्वार्टर जनजागृतिको जितमा अग्रपङ्तीका खेलाडी विवेकले दोस्रो हाफको ५९ औं, ७२ औं र ८२ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे ।

उन म्यान अफ द म्याच घोषित भइ नगद १० हजार रुपियाँ पुरस्कारको हकदार बने । यसअघि, जनजागृतिले सागर चौधरीको गोलबाट अग्रता लिएको थियो । सागरले दोस्रो हाफको ५२ औं मिनेटमा गोल गरेका थिए ।

पहिलो हाफमा भने दुवै टिमले गोल रहित बराबरी खेलेका थिए । फागुन २० गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद २१ लाख एक सय रुपियाँ र उपविजेताले १० लाख एक सय रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us