
एजेन्सी–कुनै जमानामा बलिउडमा राज गरेकी नायिका अमृता सिंहको अभिनय गरेको ‘चमेलीकी शादी’ को रिमेकमा उनकै छोरी सारा अली खानले अभिनय गर्ने भएकी छन्।
फिल्म केदारनाथबाट बलिउडमा धमाकेदार प्रवेश गरेकी सारा अली खान आफ्नी आमाको अभिनय रहेको हिट फिल्मको रिमेकमा अभिनय गर्ने पक्कापक्की भएको हो।
उनले यस अगाडि आफ्ना बुबा सैफ अली खानको फिल्म ‘जवानी जानेमन’ मा अभिनय गर्न अस्वीकार गरेकी थिइन्। उनको हातमा कुनै फिल्म नहुँदा उनलाई सैफले आफ्नो फिल्ममा अभिनय गर्न अफर गरेको तर ‘केदारनाथ’ मा अफर आएपछि उनी त्यतै व्यस्त भएको सैफले नै खुलाएका थिए। ‘केदारनाथ’को सुटिङ सक्किएपछि उनले बुबाको फिल्मको साटो ‘सिम्बा’मा अभिनय गरेकी थिइन्।
उनले अभिनय गरेको ‘लभ आजकल’ प्रर्दशनको तयारीमा छ। उनको अपोजिटमा कार्तिक आर्यनको अभिनय रहेको सो फिल्मबाट उनी आशावादी देखिएकी छन्। ‘अन्तरंगी’ र ‘कुली नम्बर वन’ मा पनि उनले अभिनय गरेकी छन्।