ठगीको आरोपमा शाहरुखको आईपिएल टिमको पनि करोडौं सम्पत्ति जफत

काठमाण्डु टुडे २०७६ माघ २० गते १७:०१ मा प्रकाशित

एजेन्सी–भारतको प्रवर्तन निर्देशनालय (इन्फोर्समेन्ट डाइरेक्टरेट) ले रोज भ्याली समूह काण्डबारे एक निर्णय गरेको छ ।

ईडीले एक बयान जारी गर्दै रोज भ्याली समूहसँग जोडिएका केही कम्पनी र व्यक्तिको सम्पत्ति जफत गर्ने गरी नयाँ निर्णय गरेको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रिभेन्सश अफ मनी लन्ड्रिङ ऐक्स अनुसार कैयौ समूह तथा व्यक्तिसँग जोडिएको ७०.११ करोड भारु जफत गर्ने निर्णय गरेको हो ।

प्रवर्तन निर्देशनालयले रोज भ्याली पोन्जी काण्डमा अभिनेता शाहरुख खानको आईपिएल टिमसँग जोडिएको कम्पनीसहित ३ कम्पनीको ७० करोड सम्पत्ति जफत गरेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

सम्पत्ति शुद्धीकरण मामलामा उक्त कारबाही गरिएको ईडीका एक अधिकारले बताए । रोज भ्याली काण्डमा ईडीद्वारा कोलकत्ता र भुवनेश्वरमा कैयौं अभियोग पत्र दर्ता गरेको छ ।
आईपिएल टिम कोलकोत्ता नाइट राइडर्सको मालिक कम्पनी द नाइट राइडर्स स्पोर्ट्स प्रा.लि हो । उक्त कम्पनीको निर्देशकमा शाहरुखकी श्रीमति गौरी खान र जुही चावलाका श्रीमान जय मेहतासहित व्यक्ति छन् ।

ईडीले सन् २०१४ मा उक्त कम्पनी, कम्पनीका अध्यक्ष गौतम कुन्डुसहित केही व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी एफआईआर दर्ता गरेको थियो । कुन्डुलाई सन् २०१५ मा कोलकत्ताबाट पक्राउ गरिएको थियो ।

त्यस्तै सोही वर्ष शाहरुखसँग पनि ईडीले सोधपुछ गरेको थियो । उनलाई आईपिएलमा विदेशी विनिमय व्यवस्थापन ऐन उल्लंघन गरेको भन्दै सोधपुछ गरिएको थियो । नाइट राइडर्स प्रालीले जय मेहतालाई कम मूल्य निर्धारण गरी ५ मिलियन बराबरको शेयर बेचेको अभियोगमा अधिकारीहरूले खानसँग स्पष्टीकरण मागेका थिए ।

रोज भ्याली काण्ड ठगीसँग जोडिएको एक चर्चित आर्थिक तथा राजनीतिक काण्ड हो । रोज भ्याली समूहले सञ्चालन गरेको पोन्जी स्किम बन्द भएपछि उक्त काण्ड घटेको थियो ।
रोज भ्याली काण्डबाट पश्चिम बंगाल, आसाम र बिहार प्रभावित बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us