चट्याङबाट तीन जनाको मृत्यु, कयौं घाइते

काठमाण्डु टुडे २०७१ वैशाख १९ गते ७:१५ मा प्रकाशित

विराटनगर, १९ वैशाख  – पूर्वाञ्चल क्षेत्रमा गए राति हावाहुरीसँगै आएको चट्याङ लागेर तीन जनाको मृत्यु हुनाका साथै ११ जना घाइते भएका छन् ।पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुर प्याउली–१ बस्ने २४ वर्षीय एकराज श्रेष्ठ तथा सोलु टाकसिन्धु–३ बस्ने १७ वर्षीय छेवाङ शेर्पा र ३८ वर्षीया डानिमा शेर्पाको घरको आँगनमा बसिरहेका अवस्थामा चट्याङबाट मृत्यु भएको छ ।

गए राति परेको चट्याङमा परी ओखलढुङ्गा कटुन्जे–१ की ४० वर्षीया उर्मिला कटुवाल, ६० वर्षीया छकिमाया दर्जी, २३ वर्षीया सम्झना गिरी र ५८ वर्षीया मिठुमाया सार्की गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ ।

यसैगरी धनकुटा भिरगाउँ–९ स्थित शेरबहादुर दर्लामीको घरमा चट्याङ पर्दा निजकी ५५ वर्षीया आमा बुद्धमाया, श्रीमती ३० वर्षीया इन्द्रकुमारी र चार वर्षीय छोरा रितेश मगर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि स्थास्थ्य चौकी हिले पठाइएको छ ।यसैगरी झापाको राजगढ–८ मा बिहीबार परेको चट्याङले एकै परिवारका चार जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय मोहन राजवंशीकी श्रीमती ४५ वर्षीया मङ्गलसरी, भाइ ३५ वर्षीय चन्द्र तथा छोरीहरु १३ वर्षीया सुनती र २२ वर्षीया विष्णु छन् । घाइतेलाई उपचारका लागि मनमोहन अस्पताल विर्तामोड पठाइएको छ ।

चट्याङबाट सोही परिवारको गोठमा रहेका एउटा गाई र एउटा गोरुसमेत मरेका छन् । चट्याङबाट भोजपुरकै हेलौङछा–४ का भक्तबहादुर तामाङको गोठमा बाँधिएको एउटा गोरु, एउटा राँगो एक÷दुई वटा सँंगुर मरी अन्दाजी मूल्य रु ७० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us