विराटनगर, १८ वैशाख – एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले हेर्टौडा महाधिवेशनबाट पारित मूल प्रस्तावलाई परिमार्जन गरी नयाँ दिशा दिनुपर्ने बताएका छन् ।
पार्टीद्वारा आज विराटनगरको सहिद रङ्गशालामा आयोजित प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले पार्टीभित्र गम्भीर रोग देखा परेकाले यसलाई परिमार्जन नगरी पार्टी अघि बढ्न नसक्ने उल्लेख गरे ।
प्रचण्डले मुलुकमा समाजवादी क्रान्तिलाई पूर्णता दिन पार्टीको सम्पूर्ण संरचना र कार्यशैली परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याए ।
पार्टीका नेता र कार्यकर्ता आत्मकेन्द्रित भएको कारण जनताको पार्टी होइन कि भन्ने भ्रम परेको धारणा राख्दै अध्यक्ष दाहालले पार्टीलाई रुपान्तर गर्न सम्मेलनको आयोजना गरिएको उनको भनाई छ ।
प्रचण्डले जनताको भावनाअनुसार नयाँ संविधान बनाउने अभिभारा आफूहरूको काँधमा आएको छ भन्दै जनभावनाअनुसारको संविधान बनाउन वृहत मोर्चा बनाउनेतर्फ पार्टी नेतृत्व अग्रसर रहेको छ बताए ।
अध्यक्ष दाहालले देशमा विभाजित कम्युनिष्टलाई एक ठाउँमा केन्द्रित गर्न सम्मेलनमा बृहत छलछफल हुने बताउँदै दोस्रो संविधानसभाको निर्वाचनमा पार्टीलाई प्राप्त परिणामले पनि पार्टीलाई सुदृढीकरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
नेता बाबुराम भट्टराईले मुलुकमा पुँजीको विकास गर्न मजदूरको भूमिका प्रष्टाउँदै पूँंजीबिना मजदूर र उद्योगको विकास हुन नसक्ने जोड दिए । भट्टराईले पार्टी नयाँ विचार र कार्यशैलीबाट अघि बढाउनुपर्ने भन्दै पुँजी र श्रमबीचको अन्तर विरोधले राष्ट्र समृद्ध नहुने धारणा राखे ।
पार्टीका अर्का नेता नारायणकाजी श्रेष्ठले जनवादी क्रान्तिलाई गुणात्मकरुपमा अघि लैजानुपर्ने बताउँदै नेपाली समाज अव पुूँजीवादमा प्रवेश गर्न लागेको टिप्पणी गरे ।
महिला नेत्री हिसिला यमी, मजदूर नेता शालिग्राम जमर कट्टेल र विद्यार्थी नेता हिमाल शर्माले पार्टीको सुदृढीकरण र कार्यदिसाका बारेमा आ–आफना धारणा राखेका छन् ।