काठमाण्डु, १८ वैशाख – सञ्चारसम्बन्धी दश सङ्घसंस्थाले नेपाल पत्रकार महासङ्घलाई थप समावेशी बनाउन महासङ्घको २४औँ महाधिवेशनमा विधान संशोधनसम्बन्धी साझा प्रस्ताव लैजाने निर्णय गरेका छन् ।
नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार सङ्घ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, मधेसी पत्रकार सङ्घ, मधेसी पत्रकार समाज, जागरण मिडिया सेन्टर, मधेस मिडिया हाउस, सञ्चारिका समूह नेपाल तथा क्रियाशील पत्रकार महिला समाजको संयुक्त बैठकले पत्रकार महासङ्घमा उपाध्यक्ष एक समावेशी (महिला, आदिवासी जनजाति, मधेसी र दलित), सचिव महिला, सचिव समावेशी (आदिवासी जनजाति, मधेसी र दलित), सचिव एसोसिएट तथा खुल्ला सात सदस्य (अपाङ्ग एक र अल्पसङ्ख्यक एकसहित), लेखा समितिमा एक महिलासहित तीन सदस्य तथा प्रत्येक १० बराबर एक केन्द्रीय प्रतिनिधि हुने विधान संशोधनसम्बन्धी साझा प्रस्ताव पारित गरेको छ ।
क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्य, प्रेस युनियनका उपाध्यक्ष गङ्गाधर पराजुली, प्रेस चौतारीका सल्लाहकार प्रमोद दाहाल, आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरुङ, मधेसी पत्रकार सङ्घका अध्यक्ष कुमारविवेकानन्द मिश्र, मधेसी पत्रकार समाजका अध्यक्ष मोहनसिंह, मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, मधेस मिडिया हाउसका अध्यक्ष राजेश अहिराज, सञ्चारिका समूहका महासचिव नितु पण्डित तथा क्रियाशील पत्रकार समाजका शुभेच्छा बिन्दु तुलाधरले सो निर्णयमा हस्ताक्षर गरेका छन् ।