परीक्षा समन्वय समितिलाई बिशेषाधिकार

काठमाण्डु टुडे २०७१ वैशाख १८ गते ३:३३ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख – भोलीदेखि सुरु हुने कक्षा ११ र १२ को परीक्षामा उच्च माध्यमिक शिक्षा परिषद्ले परीक्षा समन्वय समितिलाई विशेष अधिकार दिने भएको छ ।
शिक्षा पत्रकार सञ्जालद्वारा आयोजित कार्यक्रममा परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला प्रहरी प्रमुख र जिल्ला शिक्षा अधिकारी, नेपाली सेनाका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, जिल्ला अनुसन्धान प्रमुखलाई सदस्यका रुपमा राखिने र समितिले नै परीक्षासम्बन्धी सम्पूर्ण व्यवस्था मिलाउने र जिम्मा दिने बताए ।

परीक्षाका क्रममा हुने अमर्यादित कार्यविरुद्ध कारबाही चलाउने जिम्मा पनि समितिकै हुने उनले जानकारी दिए ।

यस वर्ष ९४६ परीक्षा केन्द्र तोकिएका छन् । तीन हजार ५९५ उच्चमाविबाट सात लाख ६४ हजार ७२५ विद्यार्थीले परीक्षा दिँदै छन् ।
परीक्षा वैशाख ३० गतेसम्म चल्नेछ । परीक्षाको सम्पूर्ण तयारी भइसकेको जनाइएको छ ।

परीक्षामा कान सुन्न नसक्ने, दृष्टिविहीन वा सुस्त मनस्थिति भएका परीक्षार्थीका लागि परीक्षा दिने विशेष व्यवस्था गरिएको छ । यसैगरी, कारागार र बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us