मजदुर दिवश मनाइदै

काठमाण्डु टुडे २०७१ वैशाख १८ गते २:५० मा प्रकाशित

काठमाण्डु,१८ वैशाख –मजदुर दिवस आज मे १ तारिख विश्व मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ ।

श्रमिकहरुको एकता, वीरता र संघर्षको प्रतिकको रुपमा हरेक बर्ष मे १ मा यो दिवस विश्वभर मनाईन्छ । सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो शहरमा मजदुरहरुले ८ घण्टा काम, ८ घण्टा विश्राम र आठ घण्टा मनोरञ्जनको माग गर्देै सडकमा उत्रिएपछि शासक वर्गले गोली बर्षाएर सयौं मजदुरको हत्या गरेका थिए ।

श्रमिकहरुको हक अधिकार स्थापनाका लागि भएको ऐतिहासिक आन्दोलनको स्मरणमा विश्वभर मे १ का दिन यो दिवस मनाउने गरिएको छ । मजदुर दिवसका दिन आज नेपालमा पनि विभिन्न कार्यक्रम गरिने भएको छ ।

यसैबीच प्रधानमन्त्री सुशील कोइरालले मजदुर दिवसले मजदुरको हक र अधिकार स्थापित गर्न अझ बढी सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । एक सय पच्चिसौंं विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश दिदै प्रधानमन्त्री कोइरालाले स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली श्रमजीवी मजदुरहरूमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

कोइरालाले नेपालको अन्तरिम संविधान, २०६३ मा श्रमसम्बन्धी हकलाई मौलिक हकमा व्यवस्था गरिएको र संविधानले श्रमिकलाई उचित श्रम अभ्यासको हक, आफ्नो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदावाजी गर्ने हकलाई प्रत्याभूत गरेको उल्लेख समेत गरेका छन् ।

विराटनगरको मजदुर आन्दोलनबाट नेपालमा प्रजातान्त्रिक आन्दोलनको विगुल फुकिएको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले २००३ सालदेखिको मजदुर आन्दोलनसहित देशमा सम्पन्न प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संविधानसभाबाट संविधान लेख्ने यस महान अभियानलाई सफल पार्न समस्त मजदुर दिदीबहिनी तथा दाजुभाइमा अनुरोध गरेका छन् ।
कोइरालाले स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण

माध्यमको रुपमा रहेको वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाई विदेशमा जाने कामदारको हक, अधिकार र सुविधा सुनिश्चित गर्न सरकार निरन्तर लागिरहेको उल्लेख गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us