एक करोड ५३ लाख राजस्व छली गर्ने विरुद्ध मुद्धा दर्ता

काठमाण्डु टुडे २०७६ पुष ३ गते ११:२५ मा प्रकाशित

ललितपुर, ३ पुस — राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ का रमेशकुमार सैजु र सीताकुमारी चौधरीले सुन र चाँदीमा राजश्व चुहावट गरेको पाइएकाले रु एक करोड ५३ लाख १५ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको राजश्व अनुसन्धान विभाग ललितपुरले जनाएको छ ।

उनीहरुले रु एक करोड २३ लाख मूल्य बराबरको सुन र झण्डै रु चार लाख बराबरको चाँदीमा राजश्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनीहरु विरुद्ध बुधबार मुद्दा दायर गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बा १९ च ७४१३ नम्बरको गाडी जाँच गर्दा बिना बिलविजक उक्त मूल्यको सुन र चाँदी फेला पारी राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको थियो । अनुसन्धानमा कुनै वैधानिक प्रमाण फेला नपरेकाले सैजु र चौधरीले बिना इजाजत अन्य मुलुकबाट भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरी ल्याएको देखिएको विभागले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us