चापागाउँ (ललितपुर), १७ वैशाख – काठमाडौं उपत्यकामा लामो समयसम्म जात्रा लाग्ने बत्तीस लक्षणयुक्त रातो मत्स्येन्द्रनाथको रथारोहण आज सम्पन्न भएको छ ।
सहकालका देवताका रुपमा मानिने मत्स्येन्द्रनाथको रथ निर्माण कार्य सम्पन्न भएसँगै रथारोहण गरिएको गुठी संस्थान ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।
रथारोहणका निम्ति पाटन तःबहालबाट मत्स्येन्द्रनाथलाई पूजा गरी खटमा राखेर पुल्चोकस्थित रथमा आरोहण गराइनुका साथै सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको खड्गलाई पनि सो स्थानमा सँगै ल्याइएको थियो । मत्स्येन्द्रनाथको रथारोहणसँगै जात्राको सुरुवात यही वैशाख २० गतेदेखि शुभारम्भ हुने स्थानीय अमिर बज्राचार्यले बताउनुभयो ।
उक्त दिन पुल्चोकबाट स्थानीय महिला तथा पुरुष मिलेर रथलाई तान्दै गाबहाल पु¥याइने प्रचलन रहेको बज्राचार्यले जानकारी दिए । बत्तीस हात उचाइ, बत्तीस हातको धमा (नागराजा) तथा बत्तीस फिट चौकुना भएको खटसहितको रथ निर्माण वेत र काठबाट मात्रै भएको निर्माण कार्यमा संलग्न रामेश्वर महर्जनले बताए ।
मत्स्येन्द्रनाथको जात्रा सुरुपछि पुल्चोकबाट गाबहाल, सुन्धारा, टङ्गल, इटिटोल, लगनखेल, कुमारीपाटी, मानभवन हुँदै जावालेखलमा पु¥याइन्छ । जावलाखेल पु¥याएको चौंथो दिन भोटो जात्रा देखाई जात्राको विधिवत् समापन गरिने संस्थानका प्रमुख सुवेदीले बताए ।