काठमाण्डु , २५ मंसिर- शेयर बजारमा केही दिनयता उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा निरन्तरको गिरावट रोकिँदै वृद्धि हुन थालेपछि सो उत्साह देखिएको हो । आज बुधबार नेप्से दोहोरो अंक अर्थात १०.११ अंकले बढेर ११६१.४७ बिन्दुमा पुगेको छ ।
कारोबार शुरु भएदेखि नेप्से बढ्दै गएको थियो । बीचमा केही घटे पनि अन्ततः कारोबार बन्द हुने बेला सुधारिएको हो । कुल १७३ वटा कम्पनीको २० लाख ४३ हजारभन्दा बढी कित्ता शेयर ५५ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन परिसूचकँगै कारोबार रकम र शेयर संख्यामा पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आज कारोबारमा आएका समूहमध्ये उत्पादन समूहबाहेक सबै समूह बढेका छन् ।
आज नेपाल बंगलादेश बैंकको संस्थापक समूहतर्फको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ६ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४५ प्रतिशत लाभांश घोषणा गरेको डिप्रोक्स लघुवित्तबाहेक नयाँ नेपाल लघुवित्त, युनाइटेड इन्स्योरेन्सलगायतका कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । समग्र परिसूचक दोहोरो अंकले बढेको दिन युनिभिर नेपाल कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।