काठमाण्डु , ९ मंसिर — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको दोस्रो दिन सोमबार स्थिर देखिएको छ । अघिल्लो दिन अंकले घटेको थियो । आज परिसूचक १११०.०८ बिन्दुमा स्थिर रहेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको नेप्से १ बजेपछि सुधार हुँदै जाँदा स्थिर देखिएको हो ।
कुल १६८ वटा कम्पनीको १० लाख ७८ हजारभन्दा बढी कित्ता शेयर २८ करोड ८८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । आज कारोबारमा आएका समूहमध्ये होटल, जलविद्युत्, फाइनान्स, उत्पादन, अन्य र लघुवित्त समूहबाहेक सबै समूह घटेका छन् । आज नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक समूहको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ३ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । एनएमबि बैंकको ३ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।
आज मिथिला लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे चार प्रतिशतले बढेको छ । त्यस्तै पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको ६ प्रतिशतभन्दा बढीले शेयर मूल्य घटेको छ ।