बाल विवाहको आरोपमा दुई युवक पक्राउ

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते १३:५७ मा प्रकाशित

रुकुम, १५ वैशाख – बाल विवाहको आरोपमा रुकुम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

बाँफीकोट–८ भाग्लेका १९ वर्षीय भरत विकलाई प्रहरीले पक्राउ गरेको हो । स्यालापाखा–४ की १४ वर्षीया विस्मति विसीसँग बिहे गरेको भन्दै बालिकाका आफन्तले युवकविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । बालिकाका आफन्तको उजुरीको आधारमा विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहे गर्न भन्दै यही १२ गते उनीहरु भागेका थिए । उनीहरु भागेको दुई दिनपछि हिजो १४ गते बालिकाका अभिभावकले प्रहरीमा बाल विवाहविरुद्ध जाहेरी हालेका थिए ।

यस्तै रुँघा–७ का २३ वर्षीय तेजबहादुर परियार पनि पक्राउ परेका छन् । स्यालापाखा–३ की १५ वर्षीया कल्पना विकलाई बिहे गरेका उनी विरुद्ध बालविवाह गरेको मुद्दा परेको छ । उनीहरुले यही ११ गते बिहीबार भागेर विवाह गरेका थिए ।

किशोरीका आफन्तले किशोरीलाई ललाइफकाई भगाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका हुन् । दुवैजनामाथि अनुसन्धान भइरहेको रुकुम प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us