काठमाण्डु, १५ वैशाख । नेपालका लागि बेलायती राजदूत एन्डी स्पाक्र्सले गोर्खाली सेनाको प्रशंसा गरेका छन् । बेलायती महारानीको जन्मदिवस समारोहलाई सम्बोधन गर्दै उनले नेपालका गोर्खा सिपाईहरू बेलायती सेनाका महत्वपूर्ण अंग बनेको भन्दै प्रशंसा गरेका हुन् ।
उनले गोर्खाली सेनाहरुलाई निष्ठावान, अनुशासित र ‘वीरहरूमध्येका पनि वीर’ को संज्ञा दिएका छन् । साथै उनले नयाँ नेपालका लागि समावेशी संविधान बनाउन र केही समयमै लामो यात्रा तय गरेको शान्ती प्रकृयालाई टुंग्याउन सबै पक्षका राजनीतिज्ञहरूलाई जनताले एउटा अर्को मौका दिएको पनि बताएका छन् ।
संविधानसभाले अब आफना समितिहरू तथा तिनका अध्यक्षहरू पाएको भन्दै उनले अब दलहरु संविधान लेखनतिर इमानदारीपूर्वक लाग्ने विश्वास पनि व्यक्त गरेका छन् । नेपाल र बेलायतवीचको द्दिपक्षीय सम्बन्ध २ सय वर्ष पुग्न लागेको भन्दै उनले खुसी पनि ब्यक्त गरेका छन् ।